पहिराले काभ्रेको पाँचखालस्थित ५० किलोमा सडक अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको प्रहरीले जनाएको छ । पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिएको छ । सडक सुचारु हुन केही समय लाग्ने भएकाले बैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । अविरल वर्षा र पहिरोले देशभर २० वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् भने १०९ वटा राजमार्गहरू एकतर्फी चालु रहेको सडक विभागले जनाएको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गतको खाँदबारी किमाथांका सडक पहिरोका कारण अवरुद्ध छ । कोशी राजमार्गअन्तर्गत मूलघाट–सिम्सुवा खण्डमा पहिरो र लेदो खरेर अवरुद्ध भएको हो । साँगुरीगढी गाउँपालिकामा पर्ने सिम्सुवा र घण्टे भन्ने स्थानमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको धनकुटा प्रहरीले जनाएको छ । यस्तै तनहुँको डुम्रे बेशीशहर चामे मनाङ्ग सडक योजनाअन्तर्गतको डुम्रे–बेशीसहर–चामे राजमार्ग पनि अवरुद्ध छ । 

 
 
 

प्रतिक्रिया