एकीकृत समाजवादीले असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने
नेकपा एकीकृत समाजवादीले असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी २०६ केन्द्रीय सदस्य थप गर्न लागेको हो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा २०६ केन्द्रीय सदस्यको पद रिक्त छन् । सातै प्रदेशका इन्चार्ज र सचिवलाई सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा सिफारिस गर्न पार्टीले निर्देशन दिएको छ । वर्तमान केन्द्रीय कमिटीले सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा नयाँ केन्द्रीय सदस्य छनोट गर्नेछ । पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५/४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।
प्रतिक्रिया