भारतीय प्रधानमन्त्री मोदी मस्को भ्रमणमा, पुटिनसँग भेटवार्ता र थप सहयोग सम्झौता हुने

भारतीय प्रधानमन्त्री २ दिने रुस भ्रमणका क्रममा मस्को पुगेका छन् । सोमबार नै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । दुई नेताबीच औपचारिक भेटवार्ता भने आज हुनेछ । भेटमा भारत तथा रुसबीचको सम्बन्ध अझ मजबुत बनाउने बिषयमा कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीचको भेटमा धेरै आर्थिक घोषणा हुनसक्ने अनुमान छ । दुई देशले आपसी व्यापार बढाउन नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ । नयाँ व्यापार मार्गबारे दुई देशबीच सम्झौता हुँदैछ । सम्झौता हुने व्यापार मार्गले इरानको चाबहार बन्दरगाह हुँदै मध्य एसिया हुँदै भारतलाई रुससँग जोड्नेछ ।  सम्झौता पूरा भएमा रुसबाट भारत आउने कच्चा तेल र अन्य आयातित सामानको मूल्य घट्नेछ । साथै भारतबाट हुने निर्यात पनि बढ्नेछ ।  भारत र रुसबीच नयाँ रक्षा सम्झौता हुने अनुमान छ । रुस र भारतबीच नयाँ वायु रक्षा प्रणाली सुखोई ३० एमकेआई र का–२२६ हेलिकप्टरको लाइसेन्स उत्पादन खरिदका लागि सम्झौताको तयारी छ । युक्रेन युद्धपछि भारतले रुसबाट कच्चा तेलको आयातमा ठूलो वृद्धि गरेको छ । दुई वर्षको युद्धपछि पनि रुसले भारतलाई सस्तो मूल्यमा कच्चा तेल बेचिरहेको छ । उनी मस्कोमा हुने २२औं भारत–रुस वार्षिक शिखर सम्मेलनमा समेत सहभागी हुनेछन् । मोदीलाई मस्को विमानस्थलमा रुसी सेनाको एक टुकडीले ’गार्ड अफ अनर’ समेत दिएको थियो । तेस्रो पटक प्रधानमन्त्री बनेपछि मोदी पहिलो विदेशयात्रामा निस्किएका हुन् ।।

 

प्रतिक्रिया