युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिडदै

युरोपेली च्याम्पियनसिप यूरोकप २०२४ को पहिलो सेमिफाइनलमा  आज राति स्पेन र फ्रान्सले एकअर्काविरुद्ध खेल्दै छन् ।  खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा सुरु हुनेछ । फ्रान्स र स्पेनबिच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ । जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् ।  यद्यपि पछिल्ला आठ खेलमा फ्रान्सले पाँचमा जित हात पारेको छ । जारी प्रतियोगितामा स्पेनले पाँच खेल जित्ने व्रmममा ११ गोल गरिसकेको छ । यसबिच स्पेनले दुई गोल मात्र खाएको छ । फ्रान्सले सेमिफाइनल पुग्ने क्रममा अहिलेसम्म अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । फ्रान्सले भने दुई गोल आत्मघाती रूपमा प्राप्त गरेको थियो भने एक गोल केलियन एमबापेले पेनाल्टीमा गरेका थिए । फ्रान्स सबभन्दा कम गोल बेहोरेर अन्तिम चारमा पुगेको छ । स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने दाउमा रहेका छन । सन् १९६४, २००८ र २०१२ मा स्पेन तथा सन् १९८४ र २००० मा फ्रान्स युरो च्याम्पियन बनेका थिए ।  स्पेन र फ्रान्सबिचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छन् । 
 

प्रतिक्रिया