कैलाली र कञ्चनपुरमा डुबानले जनजीवन अस्तव्यस्त

लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको छ । कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा शनिबार राति  १२ बजेदेखि आइतबार राति १२ बजेसम्म अति भारी वर्षा हुँदा ७७ वर्ष यताकै दोस्रो धेरै÷ठूलो वर्षा भएको थियो ।  कञ्चनपुरका हनुमान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा ४ सय ५० मिलिमिटरदेखि ५ सय ८ मिलिमिटरसम्म वर्षा मापन भएको छ । वर्षाको यो रेकर्ड हालसम्मकै दोस्रो ठूलो हो । यसअघि दोस्रो धेरै वर्षाको रेकर्ड कैलालीको चिसापानीमा रेकर्ड भएको थियो ।  लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सतह बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् । टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन् । पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेका हुन । 

प्रतिक्रिया