संसदमा एमाले सांसदहरुले एकैस्वरमा मागे प्रधानमन्त्रीको राजीना

नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरेका हुन् । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको आरोप लगाए । 
नेकपा एमालेकै सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन । 
नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरु भइरहेका भएपनि सरकार कानमा तेल हालेर बसेको बताए । प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ । 
नेकपा एमालेका सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए । विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको उनको भनाइ छ ।  
नेकपा एमालेका सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार राहत र पुनःस्थापनाको काम सरकारले अगाडी बढाउन नसकेको बताए । प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्व राजीनामा दिएर माग प्रशस्त गर्न उनको आग्रह छ । 
सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै एमाले सांसदहरुले छिटोभन्दा छिटो बलियो सरकार बनाउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया