मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै
मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ । तथापि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैविच कञ्चनपुर जिल्लामा अति भारी वर्षा भएको छ । हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ । यी क्षेत्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटर वर्षा मापन भएको छ । थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अति भारी वर्षाका कारण उक्त क्षेत्र भएर बग्ने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तहभन्दा माथि रहेको छ । त्यसैले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न÷जान विभागको आग्रह छ । यसैबीच, माहाकाली नदीमा बाढीको उच्च जोखिम रहेको छ । राति १२ बजे महाकाली नदी डडेलधुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको थियो । काठमाडौंमा पछिल्लो २४ घण्टामा २३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ धनगढीमा १५० मिलिमिटर वर्षा भएको छ । कञ्चरपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा भएको छ । निरन्तरको वर्षा पछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू पूर्णरुपमा अवरुद्ध भएका छन् । देशका २३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको र १७ स्थानमा एकतर्फी रूपमा संचालन गरिएको नेपाल प्रहरीले एक सूचनामार्फत जानकारी दिएको छ ।ललितपुर, सङ्खुवासभा, रसुवा, मनाङ, म्याग्दी, नवलपरासी, प्युठान, गुल्मी, अर्घाखाँची, रोल्पा, हुम्ला, सुर्खेत, दैलेख र अछाम जिल्लाका विभिन्न राजमार्ग तथा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया