सप्तकोशीमा पानीको बहाव घट्न थाल्यो
सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ । आइतबार साँझ ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा सप्तकोशीको बहाव ३ लाख ७६ हजार ३३५ क्यूसेक रहेको छ । आइतबार दिउँसो ३ बजे नदीको बहाव ३ लाख ९३ हजार ७१५ पुगेको थियो । आइतबार बिहान ९ बजे ३ लाख ६८ हजार क्यूसेक पानी रहेको भएपनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० पुगेको थियो । पानीको बहाव बढेसँगै ब्याजेरका ५६ वटै ढोका खोलिएका छन् । प्रशासनले अवस्था सामान्य भएपनि कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च शतर्कता अपनाइएको जनाएको छ । शनिवारबाटै तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रुपमा तयारीमा रहेको जनाएको छ । उता, पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक नदीमा पानीको सतह घटेको छ । आइतबार बिहान १० बजे पानीको बहाव ४ लाख ४० हजार क्यूसेक रहेकोमा साँझ साढे ६ बजेसम्म बाढीको बहाव घटेर ३ लाख २२ हजार क्यूसेकमा झरेको छ । नारायणी नदी आसपासका अधिकांश क्षेत्रमा आइतबार दिउँसोदेखि वर्षात् रोकिएका कारण गण्डकमा पानीको सतह घट्दै गएको हो । नारायणी नदीमा पानीको सतह बढेपछि आफ्नो सुरक्षाका लागि भारतले त्रिवेणीधाममा रहेको गण्डक ब्यारेजका सबै ३६ वटा ढोका शनिबार बिहानै खुल्ला गरेको थियो ।
प्रतिक्रिया