बागमती सरकारबाट बाहिरियो एमाले, माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता
नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेले नेकपा माओवादी केन्द्र नेततृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई आज एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूल संयुक्त रुपमा राजीनामा बुझाएका हुन् । एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ रहेका थिए । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको थियो । विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने तोकिएको छैन् । नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्ने भएको छ । मुख्यमन्त्रीमा कांग्रेसले दावी गरिरहेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीका दाबेदार रहेका छन् ।
प्रतिक्रिया