रकम फिर्ताको माग गर्दै सहकारी पीडितद्धारा सञ्चालकहरुविरुद्ध उजुरी
काठमाडौँमा रहेको सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा उजुरी दिएका छन् । बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा सगरमाथा सहकारीका अध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेतीलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । उप्रेती पक्राउ परेपछि बचतकर्ताहरुले आफ्नो रकम फिर्ताको माग गर्दै सञ्चालकहरुविरुद्ध उजुरी दिएका हुन् । लामो समयसम्म आफूहरुले राखेको रकम निकाल्न जाँदा भोलि भोलि भन्दै सहकारीका सञ्चालकहरुले टारेपछि बाध्य भएर उजुरी दर्ता गर्नु परेको उनीहरुको भनाइ छ । बचतकर्ताहरुले आफ्नो रकम फिर्ताका लागि गम्भीर बनिदिन सरकारलाई आग्रह पनि गरेका छन् ।
काठमाडौँमा रहेका यमुना आईडल सहकारी, सगरमाथा सहकारी, तपाइ हाम्रो सहकारी, नागरिक कल्याण सहकारी र घेडुङ सहकारी मर्ज भएर सगरमाथा बहुउद्देश्यीय सहकारी बनेको थियो । पछिल्लो समय सहकारीले रकम नदिएपछि पीडितहरुले उजुरी दिएका हुन् ।
प्रतिक्रिया