आर्थिक वर्ष नसकिदै सरकारी खाता खर्बौ रुपैयाँभन्दा धेरैले घाटामा
चालू आर्थिक वर्ष २०८०÷८१ सकिन एक हप्ता बाँकी रहँदा सरकारी खाता तीन खर्ब रुपैयाँभन्दा धेरैले घाटामा रहेको छ । सरकारको आम्दानी कम र खर्च धेरै हुँदा सरकारी खाता ३ खर्ब ४ अर्ब रुपैयाँभन्दा धेरैले घाटामा रहेको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजो आइतवारसम्म सरकारले कर, अनुदान र अन्य शीर्षकमा ९ खर्ब ९४ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको छ । तर खर्च भने १२ खर्ब ९८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । आम्दानीभन्दा खर्च बढी गरेको सरकारले कर्मचारी पाल्नकै लागि ऋण लिइरहेको छ । सरकारले चालू आर्थिक वर्षको जेठसम्ममा ३ खर्ब ७ अर्ब रुपैयाँ आन्तरिक ऋण र ८२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ । आम्दानीतर्फ ९ खर्ब ६८ खर्ब रुपैयाँ राजस्वबाट, २ अर्ब ७५ करोड रुपैयाँ अनुदानबाट र २३ अर्ब रुपैयाँ अन्य तर्फबाट आम्दानी गरेको छ । यस्तै खर्चतर्फ ९ खर्ब १५ अर्ब चालू खर्च, १ खर्ब ५३ अर्ब पूँजीगत र २ खर्ब २८ अर्ब रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू खर्च झन्डै ८१ प्रतिशत पुग्दा विकास खर्च भने जम्मा ५२ प्रतिशत मात्रै रहेको छ । यसैविच आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय मलेनिका, प्रदेश लेखा नियन्त्रक कार्यालय प्रलेनिका र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिकाले सञ्चालन गर्ने खाता बन्द गरिने भएका हुन । संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले आजम्ममा चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया