सामसङका कर्मचारीको तीन दिने हडताल शुरु
विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु गरेका छन् । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन एनएसईयूका झन्डै २८ हजार जना सदस्यले हडताल थालेका हुन । उनीहरूले बोनस प्रणाली सुधार गर्न र कामदारको वार्षिक बिदामा केही दिन थप गर्न माग गरेका छन् । कर्मचारी युनियनका नेता ली ह्युन–कुकले माग सुनुवाइ नभए अर्को चरणको सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । विश्वको सबैभन्दा ठूलो ’चिप’ उत्पादक सामसङ स्वचालित उत्पादन प्रणालीमा गइसकेकोले हडताल चिप उत्पादनमा ठूलो प्रभाव नपार्ने बताइएको छ । अरू काममा भने असर पर्ने खबरमा उल्लेख छ । सामसङले गएको शुक्रवार मात्रै यो वर्षको दोस्रो त्रैमासिकमा मुनाफामा १५ गुणाले वृद्धि भएको अनुमान गरेको थियो । कर्मचारीको आन्दोलनले त्यसलाई प्रभावित पार्ने अनुमान छ ।
प्रतिक्रिया