एमालेलाई माओवादी सांसदको जवाफ: भ्रष्ट र अनैतिकहरूले नैतिकताको पाठ पढाउन आवश्यक छैन
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताए । असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढेको बताए ।
प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्त, लीलानाथ श्रेष्ठ लगायतले प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएपछि माओवादी सांसद दाहालले जवाफ फर्काएका हुन्। एमाले सांसद पन्त, श्रेष्ठ लगायतपछि बोलेका माओवादी केन्द्रका सांसद दाहालले भ्रष्ट र अनैतिकहरूले नैतिकताको पाठ पढाउन आवश्यक नभएको बताउँदै प्रचण्ड संवैधानिक प्रक्रिया अनुसार अघि बढेको बताए । उनले भने–‘सरकारलाई समर्थन दिएको राजनीतिक दलले विश्वासको मत फिर्ता लिइसकेपछि सरकारले १ महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान छ । संवैधानिक प्रावधान अनुसार नै प्रधानमन्त्रीज्यूले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरिसक्नुभएको छ । यसै सन्दर्भमा संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईँहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । संवैधानिक व्यवस्था अनुसार नै सरकार अगाडि बढ्छ । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म यहाँहरूलाई पर्खिन पनि आग्रह गर्दछु । अनि कोही अनैतिक र भ्रष्टहरूले नैतिकताको पाठ पनि सिकाइराख्नु पर्दैन ।’
प्रतिक्रिया