लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानले देशभर ११ जना जनाको मृत्यु

लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ ।  हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । विपदका घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने ११ जनामध्ये गण्डकी प्रदेशको स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् । स्याङ्जामा तीन, पर्वत र काभ्रेमा दुई÷दुर्ई, पाल्पा, तनहुँ, उदयपुर र काठमाण्डौमा एक÷एक जना रहेका छन् । त्यस्तै तनहुँमा तीन, दाङमा दुई, दोलखा, नवलपरासी र स्याङजामा एक÷एक जना बेपत्ता छन् । घाइते हुनेमा स्याङजामा पाँच, तनहुँमा चार, ओखलढुङ्गामा दुई र गुल्मीमा एक जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी, नारायणी, सेतीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । अरू विभिन्न स–साना खोला खहरे पनि उर्लिएका छन् । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।   उता सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।  उपत्यकासहित विभिन्न जिल्लामा पहिरो र डुबानले दर्जनौं परिवार विस्थापित भएका छन् । कर्णाली, गण्डकी, वाग्मती, लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन अलपत्र छन् । यस्तै, महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।  महाकालीमा पानीले खतराको सतह नाघेपछि हिजो साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको हो । यसैगरी नारायणी नदीमा बाढीको सतह अझै पनि सतर्कता तह माथि रहेको छ । नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेको छ । बाढीका कारण मुलुकभरका ४५ भन्दा सडकमा आवागमन अवरुद्ध भएका छन् । वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ ।। 
 

प्रतिक्रिया