प्रतिनिधिसभा बैठक आज बस्दै
प्रतिनिधिसभा बैठक आज बस्दै छ । राजनीतिक समीकरण फेरबदलपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । यस्तै, प्रतिनिधिसभामा उत्पति भएको ’विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले ’अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९÷२०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ः १५ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०८१’ माथि दफावार छलफल गरियोस् भनेर प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ । यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथिको दफावार छलफलका लागि प्रस्ताव गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै ‘भन्सार महसुल विधेयक, २०८१’ माथि छलफलपछि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजै अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया