कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति सरकारले लिएको अर्थमन्त्री पुनको दाबी
राजनीतिक नेतृत्व फेरिए पनि नीति फेरिन नहुने भनाइ
अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको दाबी गरेका हुन । मन्त्री पुनले चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न मूल्य अभिबृद्धि कर हटाएको जानकारी दिए ।
मन्त्री पुनले सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिएपनि नीति नफेरिने प्रतिवद्धता जनाए । नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने उनले बताए । अर्थमन्त्री पुनले नेपालले आइटी क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने उल्लेख गरे । पर्यटन, जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिष्पर्धा भन्दै उनले पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको बृद्धिदर रहेको दाबी गरे । अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया