बेलायतमा चौध वर्षपछि विपक्षी लेबर पार्टी बहुमतका साथ सत्तामा जाने निश्चित

किएर स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने

बेलायतको आम निर्वाचनमा लेबर पार्टीले झण्डै दुई तिहाइको जित हासिल गर्ने देखिएको छ । पछिल्लो परिणाम अनुसार लेबरले १ सय ११  सिटमा जित निकाल्दा कन्जरभेटिभले भने जम्मा १५ सिट जितेको  छ । जारी गणनामा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीको लज्जास्पद हार ब्यर्होने निश्चित भएको छ । सुनकको सरकारका कन्जरभेटिभ पार्टीका वरिष्ठ नेता र दुई क्याबिनेट मन्त्रीले त्यहाँको संसदीय निर्वाचनमा पराजय व्यहोरेका छन् ।रक्षामन्त्री ग्रान्ट सेप्स लेबर पार्टीका एन्ड्रीउ लिविनसँग पराजित भए । कानुनमन्त्री एलेक्स चक पनि लिबरल डेमोर्क्र्याट उमेदवार म्याक्स विल्किन्सनसँग हारे । यस्तै, पूर्वकानुनमन्त्री सर रोबर्ट बुकल्यान्ड लेबर पार्टीका हैदी अलेक्ज्यान्डरसँग पराजित भएका छन ।  एक्जिट पोलको सर्वेक्षणले लेवर पार्टीले ४ सय १० सिट जित्ने देखाएको छ । सर्वेक्षणले कन्जरभेटिभको १ सय ३१ सिट आउने आँकलन गरेको छ । निर्वाचनको परिणाम आफ्नो पार्टी जित तर्फ अघि बढिरहदा लेबर पार्टीका नेता सर किएर स्टार्मरले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । नेता स्टार्मरले जनताको सेवा गर्न मतदाताले आफ्नो पार्टी रोजेको भन्दै धन्यवाद व्यक्त गरेका हुन् । १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किन लागेको हो । ६१ वर्षिय सर किएर स्टार्मर लेबर पार्टीका नेता हुन् । उनी सन् २०२० मा पार्टीको नेतामा चुनिएका थिए । यसअघि लेबर पार्टीको नेता जर्मी कोर्बिन थिए । स्टार्मर पेशाले वकिल हुन् । स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्ने देखिएको छ । उनी पहिलो पटक सन् २०१५ मा सांसदमा निर्वाचित भएका थिए । कुल ६ सय ५० सदस्य रहने बेलायतको संसद्मा बहुमतका लागि ३ सय २६ सीट आवश्यक पर्दछ । राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था बेलायतमा रहेको छ ।  नवनिर्वाचित संसद्को बैठक जुलाई ९ मा बस्नेछ ।। 

प्रतिक्रिया