प्रधानमन्त्रीलाई राजीना दिएर मार्गप्रशस्त गर्न गगनको सुझाव
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन सुझाव दिएका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले दाहाललाई समर्थन गरेको प्रमुख दल नेकपा (एमाले) नै सरकारमा नरहेको अवस्थामा स्पष्टरूपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले कांग्रेस र एमालेबीच नयाँ सहकार्य शुरू गरिएको पनि उनले बताए ।महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको बताए। सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन कांग्रसले हरसम्भव प्रयत्न गर्ने उनले बताए।
थापाले एमालेसँगको नयाँ गठबन्धन बनाइसकेपछि पनि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण उनको नेतृत्वको सरकार ढलेको जिकिर गरे । संविधान संशोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरूसहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उनको भनाइ छ ।
असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरणबाट सरकार बनाउने र संविधान संशोधनलगायत अघि बढाउने सहमति भएको थियो।
प्रतिक्रिया