एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने

अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अन्य संस्थाबाट सञ्चालक पद छाड्नुपर्ने भएको छ ।सहकारी संस्थाको नियामक निकाय सङ्घीय सहकारी विभागले बुधबार एक सर्कुलर जारी गर्दै नयाँ व्यवस्था अनुसार नगर्ने सञ्चालकलाई कारबाही गर्ने जनाएको छ । विभागका अनुसार सहकारी बैङ्कको हकमा समेत यही नियम लागु हुने भएको छ । कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्ने विभागको निर्देशन छ । अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ । ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यको बचत रकम समयमा फिर्ता गर्नेतर्फ लाग्न पनि विभागको निर्देशन छ । यस्तै परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्याङ्कन गरी सुविधा दिन विभागले निर्देशन दिएको छ । त्यस्ता सदस्यको माग, आवश्यकता र औचित्यसमेतका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीको हकमा मात्र कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने विभागको निर्देशनमा उल्लेख छ । यसरी कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरू प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्ने । पुनर्तालिकीकरणपश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाताबाट खर्च गरी छुट्टै खातामा लेखाङ्कन गर्नुपर्ने विभागले निर्देशन दिएको छ । सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न भन्दै निर्देशन जारी गरेको विभागले जनाएको छ ।। 

प्रतिक्रिया