जग्गा विवादमा पारिवारिक प्रतिसोधले दुई जनाको हत्या, तीन जना पक्राउ

जग्गा विवादको विषयलाई लिएर पारिवारिक प्रतिसोधका कारण सुपारी दिएर दुई जनाको हत्या गरेको खुलेको छ । बारा कलैया–६ का ६० वर्षीय रामएकवाल कुम्हाल र आदर्शकोतवाल गाउँपालिका–७ निवासी ४० वर्षीय सुरेश ठाकुर लोहारको हत्यामा सग्लन पक्राउ परेका हुन । हत्यामा संलग्न मूख्य योजनाकारसहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले जगरनाथपुरका सन्तोष प्रसाद कुम्हाल, महादेव महतो नुनिया र बारा कलैयाका लक्ष्मणकुमार प्रजापति मूख्य योजनाकार रहेकोे जनाएको छ । करिब तीन साताको अनुसन्धान पछि पर्सा प्रहरीले कुम्हाल र ठाकुरको हत्या पारिवारिक रिसईबी र जग्गा जमिनको विवादका कारण गरिएको जनाएको हो । जेठ २९ मा पर्सा जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारमा नेपाल तर्फको सिमानाको दशगजा भन्दा ८० मिटरभित्र खाली जग्गामा गाडिएको अवस्थामा दुई शव बरामद भएको थियो । जेठ ३० मा दुबै शवको पहिचान खुलेको थियो । मूख्य योजनाकारले हत्या गर्ने पूर्व योजना बनाई कुम्हाल र ठाकुरलाई झारफुक एवम् धामीझाँक्रीको काम रहेको भन्ने विश्वासमा पारि बाराबाट घटनास्थलसम्म बोलाएको देखिएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न तीन जना पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान अगाडि बढाइएको छ । हत्यामा संलग्न अन्यको समेत पहिचान भइसकेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया