प्रधानमन्त्री दाहाललाई भेटेपछि रास्वपाका मन्त्रीहरुले राजीनामा दिएनन्

विश्वासको मत छिटो लिन प्रधानमन्त्रीलाई आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डोलप्रसाद अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर अहिले राजीनामा नदिने निर्णय गरेका हुन् । प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने निर्णयमा रास्वपा पुगेको हो । रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन् ।  एमालेले बुधबार प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने एमालेका मन्त्रीहरुले राजीनामा पनि बुझाएका थिए । नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएर सरकार बनाउने सहमति गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । 
 

प्रतिक्रिया