महामन्त्री ढकाललाई रास्वपाको कारवाही,  एक हप्ताका लागि निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो ।  बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै निलम्बन गरेको हो । बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो । ढकालले बैठकमा बोल्न नमानेर बैठकबाहिर मिडियामा पार्टीविरुद्ध बोलेको भन्दै पार्टीले कारबाही गरेको हो । महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए । विशेष गरी महामन्त्री ढकालले एक महिने देश दौडाहपछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएपछि विवाद सतहमा आएको थियो । रास्वपाले सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्ता तोकेको छ । ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिनेसमेत जनाइएको छ ।
 

प्रतिक्रिया