एकीकृत समाजवादी महाधिवेशन: आजबाट निर्वाचन प्रक्रिया सुरु
२१ पदाधिकारीसहित केन्द्रीय समिति चयन हुने
नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उमेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजलाई तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्तरूपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ । प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिनेछ । एक हजार ८४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।
प्रतिक्रिया