एमालेसँग भएको सहमतिलाई कांग्रेसले गर्‍यो अनुमोदन

नेपाली कांग्रेसले नेकपा एमालेसँग आगामी सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो। 

सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार यो मुद्दामा सहमत भएका अन्य दलहरूलाई पनि संवादमा ल्याइनेछ। 

‘सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ।’

सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सरकार गठन र संविधान संशोधन गर्नेजस्ता सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको भनिए पनि ती बुँदाहरू सार्वजनिक भइसकेका छैनन्।

प्रतिक्रिया