नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतले मंगलबार सो आदेश गरेको हो । न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापालाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो ।
यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । ओली सरकारमा बादल् गृहमन्त्री हुँदा प्रतीकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको सदस्यका रूपमा काम गरेको प्रहरी प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिक्रिया