गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटको पेसी आज
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटको पेसी आजलाई तोकिएको छ । असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा आजलाई पेसी तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । लामिछानेको रिट यही इजलासले टुंग्याउनेछ । सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । यसअघि रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो । रिटमा सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको दाबी गरिएको छ । उनले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन् । गत जेठ २८ गते सर्वोच्चले बुटवलस्थित सुप्रिम सहकारीका प्रतिवादीको सूची र लामिछानेलाई विपक्षी नबनाउनुको कारण माग गरेको छ । लामिछाने स्वयंले आफू कुनै पनि सहकारीको ऋणी, बचतकर्ता, सञ्चालक वा व्यवस्थापक नरहेको बताएका छन् ।
प्रतिक्रिया