क्यापिटल हिल दंगामा पूर्व राष्ट्रपति ट्रम्पलाई छुट दिने अदालतको फैसला

राष्ट्रपति बाइडेनले दिए फैसलाई डरलाग्दो विकृतिको संज्ञा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले केही हदसम्मको छुट दिने फैसला गरेको छ । सवोच्चको फैसलासँगै ट्रम्पले राहत महशुस गरेका छन् । क्यापिटल हिल दंगा मामिलामा फैसला गर्दै अदालतले ट्रम्पलाई केही हदसम्म छुट हुने फैसला गरेको छ । फैसलाका क्रममा ६ जना न्यायाधीशहरू पक्षमा र ३ जना विपक्षमा थिए । फैसलामा ट्रम्पलाई उनको आधिकारिक कामका लागि अभियोजनबाट छुट रहेको र उनका अनधिकृत कामका लागि भने कुनै छुट नहुने जनाइएको छ । सर्वोच्चले के काम आधिकारिक र अनधिकृत भन्ने छुट्याउने जिम्मा तल्लो अदालतलाई दिएको छ । राष्ट्रपति चुनावभन्दा पहिला आएको यो फैसलालाई ट्रम्पको ठूलो जीतको रूपमा हेरिएको छ । क्यापिटल हिल दंगा र २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन भएको ट्रम्पको मुद्दामा अब तल्लो अदालतमा सुनुवाइ हुनेछ । फैसलामा प्रतिक्रिया दिदै राष्ट्रपति जो बाइडेनले खतरनाक उदाहरण भएको जनाउँदै फैसलाले कानुनी शासनको मान्यतालाई कम आँकेको बताएका छन् । उनले यो फैसला अमेरिकीहरूका लागि डरलाग्दो विकृतिको रूपमा आएको समेत जनाएका छन् । ट्रम्पले भने यो फैसलाको स्वागत गर्दै प्रजातन्त्रको ठूलो विजय भएको बताएका छन् ।

 

प्रतिक्रिया