सत्ता हेरफेरको विषयलाई लिएर राजनीतिमा तरंग, नेताहरुको मिश्रित प्रतिक्रिया
सत्ता समिकरणमा फेरबदलबारे प्रमुख दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन । आज प्रतिनिधि सभा बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताए । प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर पत्रकारले गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताए ।
नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर अगाडी बढ्नुपर्ने बताए भने कांग्रेसकै सहमहामन्त्री बद्रि पाण्डेले भने एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र संकिर्ण सोच भएको टिप्पणी गरे ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समिकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताए ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको र एमाले सरकार अदल बदलको पक्षमा नरहेको जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पनि नेताहरुबिचको भेटवार्ताले सत्ता समिकरणमा फेरबदल नआउने दाबी गरे ।
वर्तमान सत्ता समिकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबिच भद्र सहमती भएको जिकिर सांसद दाहालको छ ।
प्रतिक्रिया