पदाधिकारी बैठकमा देउवाको बिफ्रिङ : ओलीसँगको कुराकानी सकारात्मक छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएको बिफ्रिङ गरेका छन् । आफ्नो निवास बुढानीलकण्ठमा सोमबार अपरान्ह बसेको बैठकमा देउवाले ओलीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् ।
शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म ओली निवासमा सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। उक्त भेटवार्तामा के कुरा भयो भन्ने अहिलेसम्म विस्तृतमा सार्वजनिक भइसकेको छैन। ओलीसँग गरेको उक्त भेटबारे देउवाले बैठकमा संक्षिप्तमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् । बैठकमा सभापति देउवाले ओलीसँगको भेट सकारात्मक भएको र अहिले धेरै टिप्पणी नगरौं भनेका विश्वकर्माले बताए।
विश्वकर्माका अनुसार ओलीले देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका थिए। ‘अहिले ओलीजीसँग सुमधुर र सकारात्मक छ,’ देउवाको भनाइ थियो। बैठकमा भ्रातृ संस्था र समसामयिक राजनीतिक घटनाक्रममा कुराकानी भएको उनको भनाइ छ ।
प्रतिक्रिया