ए सरकार याे पढ नत्र फेल हाैला !!
गृह मन्त्रालयले हाल आन्तरिक रूपमा नेपालमा गाँजा कानुनी गर्ने नाममा गाँजा र हेम्प बारे वर्गीकरण गर्न ०.३ प्रतिशत टिएचसी हुने गाँजाको बोट लाई हेम्प भन्ने, भन्ने किसिमको नीति लिने तैयारी गरेको देखिन्छ। यदि गृह मन्त्रालयले सुनिएको जस्तै तैयारी गरेको हो भने यसले लाखौँ किसानको पेटमा लात हान्ने छ। यसो हुँदा नेपालको रैथाने गाँजा नेपालमा खेती हुने छैन।
नेपालको यथार्थ के हो भने नेपालका एक तिहाइ नेपालीहरूले मात्र गाँजा (मारिजुआना वा क्यनाभिस) र भाँग (सिबिडी क्यनाबिस) बारे सुनेका छन्। अन्तर्राष्ट्रिय बजार व्यवस्था र मापदण्ड अनुरूप गाँजाको नजिकको अर्को प्रजाति हेम्पको नाम धरै कमले सुनेको देखिन्छ। नेपालमा भाङ्गो भनेर चिनिने हेम्प वाट कपडा, घर आदि आदि बन्ने गरेको छ। यथार्थमा हेम्प (भाङ्गो), गाँजा (मारिजुआना वा क्यनाभिस) र भाँग (सिबिडी क्यनाबिस) आपसमा सबै सम्बन्धित छन्। व्यवसायीकरणको रूपमा तिनीहरू बिच महत्त्वपूर्ण रूपमा फरक छुट्टाएर फरक फरक तरिका वाट कानुनी व्यवस्थापन गर्न जरुरी छ। राज्यले तिनीहरूलाई वैधानिक गर्ने क्रममा तिनीहरूको सम्भावित स्वास्थ्य लाभ, स्वास्थ्यमा दिने सम्भावित जोखिम, तिनीहरूले दिने व्यापारिक लाभ र सामाजिक प्रभावहरू लाई तौलेर गर्नु पर्ने हुन्छ।
वैज्ञानिक नामको दृष्टिमा हेम्प (भाङ्गो) र भाँग (सिबिडी क्यनाबिस) दुबैलाई क्यानाबिस सेटिभा भनिन्छ। मैले रैथाने जडीबुटी र नेपालमा गाँजा भन्ने दुई फरक फरक किताब लेख्ने क्रममा गरेको निजी सामान्य अनुसन्धानमा नेपालको हेम्पको (भाङ्गो) स्याम्पलमा मादक प्रभाव दिने लागु तत्त्व भनिने टेट्राहाईडोक्यनाबीनोल अर्थात् टिएचसि (THC) औसत लगभग ०.४ % वा सो भन्दा कम देखिन्थ्यो। जबकि भाले गाँजा भनिने नेपालको रैथाने भाँगको स्याम्पलमा (सिबिडी क्यनाबिस) मादक प्रभाव दिने लागु तत्त्व १% वा सो भन्दा कम देखिन्थ्यो। नेपालको परम्परागत मूल खेतीको रूपमा हेम्प होइन भाँग रहेको र कतिपय अवस्थामा भाँग नै भाङ्गोको नाममा चिनिने पनि देखिएको थियो।
नेपालको रैथाने गाँजाको वैज्ञानिक नाम पहिले क्यानाबिस नेपलेसिस थियो। पछि कुनै तिकडमको सिकार बनेर यसलाई क्यानाबिस इन्डिका भनियो। आजको अन्तर्राष्ट्रिय बजारले पोथी गाँजाको बोट भनेर चिन्ने नेपाली रैथाने गाँजालाई क्यानाबिस इन्डिकाको नामले चिन्दछ। जसलाई नेपालीले नेपालमा गाँजा (मारिजुआना वा क्यनाभिस) भन्ने गर्दछन्।
नेपाली गाँजामा उच्च टिएचसि (THC) भएका कारण संसारको बजारले उत्कृष्ट क्यनाबिस भनी ग्रहण गर्ने गर्दछ। हिन्द-कुश गाँजिकाको नाममा समेत यसको बिक्री हुने गरेको छ। नेपालको मकवानपुर, तनहुँ, कास्की, बाग्लुङ्ग जस्ता पहाडी भागको गाँजाको स्याम्पलमा औसत १७% र बार्पाक, लम्जुङ्ग, सल्यान, म्याग्दी मुक्तिनाथ आदि उच्च पहाडी र हिमाली भागको गाँजाको स्याम्पलमा औसत १९% सम्म टिएचसि (THC) भेटिएको थियो।
बार्पाक, लाप्राक, सल्यान र मकवानपुरको केही गाँजाको प्रजातिका फूलहरू, कोपिलाहरू, चोप उत्पादन गर्ने ट्राइकोमहरू (बिरुवाको कपालजस्तो झुस) आदिको स्याम्पलमा औसत टिएचसि (THC) २०% वा सो भन्दा बढी समेत देखिन्थ्यो। गाँजालाई नशाको रूपमा प्रयोग गर्न खोज्नेहरू यसमा अत्यन्त आकर्षक बनिरहेको भेटिन्छ।
यहाँ निर ध्यान पुर्याउनु पर्ने कुरो के छ भने पोथी गाँजाको तल्लो भागको पात, डाँठ, जरा आदिमा नगण्य टिएचसि (THC) हुने गर्दछ। तर तिनीहरू उच्च व्यापारिक र औषधीय मूल्यको भएकोले तिनीहरूलाई भाँगको (सिबिडी क्यनाबिस) रूपमा वैध व्यापारिक र फाइबरको स्रोत, हेम्पक्रिट भनिने कङक्रिट आदिको रूपमा औद्योगिक प्रयोगमा उपयोग गरिन्छ।
लगभग शून्य लागु तत्त्व टिएचसि (THC) हुने गाँजाको जरा सबैभन्दा महत्त्व पूर्ण ओखती र औषधीय हिलिङ्ग खानाको श्रोत हो। जसको नियमन जरुरी छैन। सिविडी र हेम्प ओइल जस्तै बिक्री हुनु राज्यको लागि त्यो आपत्ति जनक कुरा होइन।
केही नमुनाहरूमा भएको परिरक्षणले नेपालको गाँजाको जरामा अधिकतम ०.०००५, डाँठको बोक्रामा अधिकतम ०.००१ र तल्लो फेदतिरको नशा नदिने पातहरूमा १.० प्रतिशत भन्दा कम टिएचसि (THC) भएको देखाएको थियो। प्राविधिक रूपमा १ देखि २ प्रतिशत सम्मको टिएचसि (THC) हुने सुकेको गाँजाको कुनै पनि भाग नसाको लागि उपयुक्त नहुने भएकोले त्यसको नसाको रूपमा उपयोग हुने जोखिम कम हुन्छ।
माथिको प्राविधिक तथ्यको आधारमा नेपालमा गाँजा खेती लाई कानुनी गर्ने क्रममा हुने वर्गीकरण अन्तर्गत सुकेको गाँजाको १ प्रतिशत भन्दा कम टिएचसि (THC) हुने भाग, हेम्प (भाङ्गो) तथा भाँग तथा त्यसको दाना, हेम्प ओइल तथा ०.३% भन्दा कम टिएचसि (THC) हुने सिबिडि तेलमा कुनै नियमन गरी राख्न नपर्ने गरी स्वतन्त्र छोड्नु उत्तम हुन्छ। यी तत्त्वहरू निर्बाध रूपमा हिलिङ्ग खाना र ओखतिय तत्त्वको रूपमा खानामा राखी खान र बेच, मालिस गर्ने तत्त्वको रूपमा बेच्न दिनु उत्तम हुने छ।
सुकेको गाँजाको १ प्रतिशत भन्दा अधिक टिएचसि (THC) हुने भाग, त्यसको कन्सनट्रेड, एक्सट्रयाक, लेदो, तेल, चरेस आदि तथा तिनीहरू वाट निर्मित हरेक पदार्थहरू लाई उचित विधेयक जारी गरी स्थानीय गाविस र वार्ड समेतको सहभागितामा अत्यन्त प्रभावकारी नियन्त्रणको जरुरी छ। वैज्ञानिक अनुसन्धान वाट गाँजा, रक्सी र सुर्तीको मिश्रणको प्रभाव वाट हाल सम्म कस्तो असर हुन्छ भन्ने प्रस्ट ज्ञान संसारले नपाइ सकेकोले अनुसन्धानको लागि बाहेकको अवस्थामा औषधीय प्रयोजनमा अधिकमा ०.५ % भन्दा धेरै ९५% अल्कोहल गाँजा संग प्रयोग गर्न नहुने नीति लागु गर्न पर्दछ। औषधीय प्रयोजनमा समेत सुर्ती जन्य पदार्थ तथा गाँजाको संयुक्त उपयोग गर्नु गैर कानुनी गर्नु जरुरी छ।
प्रतिक्रिया