जमैकालाई हराउदै भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा
मेक्सिोकोसँग बराबरी खेल्दै इक्वेडरपनि अन्तिम आठमा
भेनेजुएला कोपा अमेरिका फूटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ’बी’को अन्तिम खेलमा आज बिहान जमैकालाई ३–० गोलले हराएर भेनेजुएला क्वाटरफाइनलमा पुगेको हो । टेक्ससमा भएको खेलमा भेनेजुएलाका एडवार्ड बेलो, जोस सालमोन र एरिक रेमिरेजले गोल गरे । जमैकाले भने गोल फर्काउन सकेन । यो खेलसँगै जमैका समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ । यसैबीच समूह ’बी’ कै अर्काे खेलमा इक्वेडर र मेक्सिोकोले गोलरहित बराबरी खेलेका छन् । आज बिहानको खेलमा बराबरी भएपछि इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार अङ्क भए पनि गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ । कोपा अमेरिकामा अब समूह ‘सी’ र ‘डी’ बाट क्वाटरफाइनल पुग्ने टिमको तय हुनेछ ।
प्रतिक्रिया