एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

अध्यक्षमा नेपाल दोहोरिने गरी सहमतिमा नेतृत्व चयनको प्रयास

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । शनिबार शीर्ष नेताहरूले महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गर्ने उल्लेख गर्दै त्यसो हुन नसके लोकतान्त्रिक विधिबाट अघि बढ्ने बताएका छन् । एमालेबाट विभाजन भएको दुई वर्ष दश महिनापछि हुन लागेको महाधिवेशनमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अध्यक्षका लागि आकांक्षी देखिएका छन् । २०७८ भदौमा नेपाल पक्ष एमालेबाट विभाजित भई एकीकृत समाजवादी गठन भएको थियो । नेपालको नेतृत्वमा पार्टीले स्थानीय, प्रदेश र संघको निर्वाचनमा कमजोर परिणाम ल्याएको भन्दै युवा नेताले नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । दसौं राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुनेछन् । ती प्रतिनिधिले २ सय ९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् । विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ । महाधिवेशनले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन, महासचिव भुसालको सांगठनिक प्रतिवेदन पारित गर्ने छ । एकीकृत समाजवादीले पार्टीको संगठित सदस्य १ लाख ४६ हजार सदस्यबाट १ हजार ८ सय महाधिवेशन प्रतिनिधि चयन गरेको हो । 
 

प्रतिक्रिया