विदेशमा बस्ने नेपालीको नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छः प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर बनाएको कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जनाएका हुन् । मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको जानकारी दिदै प्रमुख आयुक्त थपलियाले सरकारले सहयोग गरे विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने बताए ।
प्रमुख आयुक्त थपलियाले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताए । सेवा सुविधा बसेको देशको लिनेहरुलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको उनको भनाइ थियो । प्रमुख आयुक्तले वाह्य मतदान ? स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने स्पष्ट पारे । निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निस्कर्षमा रहेको उनको भनाइ छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको पनि बताए ।
प्रतिक्रिया