मनसुन थप सक्रिय भएसँगै आइतवारसम्म धेरै ठाउँमा वर्षा हुने अनुमान

नदी किनारमा बस्नेलाई सावधानी अपनाउन आग्रह

देशभर मनसुन सक्रिय भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  आइतवारसम्म देशका धेरै ठाउँमा वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका हुन्् । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने बताइएको छ । गण्डकी प्रदेशका केही ठाउँ, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा मधेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा भने धेरै ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतवारसम्म मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढेर दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको हो । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आउने सम्भावना रहेकाले सतकर्ता अपनाउन विभागले आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । चितवनको कल्याणपुर र चर्चरे, काठमाण्डौको गोंगबु र कपन तथा सिन्धुपाल्चोकको गोब्रे र मानेखर्कमा ठूलो पानी परेकाले त्यस आसपासका नदी खोला किनारमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । 

प्रतिक्रिया