आधा असार सकिदापनि देशभरि नौ दशमलब आठ प्रतिशत धान रोपाइँ

मधेश प्रदेशमा करिव तीन प्रतिशत क्षेत्रमा मात्र धान रोपियो

असार १२ सम्म देशभरि ९.८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत धान रोपाइँ भएको छ भने सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र भएको छ ।  गत वर्ष असार १० सम्म सुदूरपश्चिम प्रदेशमा २२.६ प्रतिशत मात्र रोपाइँ भएको थियो भने मधेश प्रदेशमा २.९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष कर्णाली प्रदेशमा २३.९ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा १८.३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ८.८ प्रतिशत र गण्डकी प्रदेशमा ८.३ प्रतिशत रोपाइँ भएको छ । कोशीमा ५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।  यस वर्ष कुल १३ लाख ९८ हजार ८ सय ३६ क्षेत्रफलमा धान रोपाइँ हुने विभागले जनाएको छ । त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । गत वर्ष यतिबेला ८.७५ प्रतिशत मात्र रोपाइँ भएको थियो । सरकारले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भनी मूल नाराका असार १५ गते २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन गइरहेको छ ।चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । आगामी आवमा धान उत्पादनमा वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको छ । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले जनाएको छ । नेपाललाई ७९ लाख ७० हजार मेट्रिक टन धानको आवश्यकता रहेको छ । आन्तरिक उत्पादनबाहेक २३ लाख ७९ हजार मेट्रिक टन धानको अभाव हुने सरकारी तथ्यांक छ ।। 

प्रतिक्रिया