राष्ट्रपति पदका उम्मेदबार बाइडेन र ट्रम्पद्वारा एकअर्काको नीतिको चर्को आलोचना

अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनका दुई प्रतिष्पर्धीबीच चर्को बहस भएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका दुई उम्मेदवारबीच आज विहान बहस भएको हो । डेमोक्रेटिक पार्टीका उम्मेदवारसमेत रहेका राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प बहसका सीएनएन टेलिभिजन स्टुडियोमा पुगेका हुन । ९० मिनेट भएको बहसमा राष्ट्रिय सुरक्षा, जलवायु परिवर्तन, कर, हतियार, रुस–युक्रेन तथा इजरायल गाजा युद्ध, वैदेशिक सम्बन्ध, वैदेशिक सहयोग, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका विषयमा उनीहरुले आ आफ्ना तर्क पेश गरेका छन् । ट्रम्पले भने राष्ट्रपति बाइडेनको व्यक्तिगत जीवनलाई लिएर चर्को आलोचना गरेका छन् । यस्तै विभिन्न क्षेत्रमा लगाइएको कर तथा अनियमितताका विषय र लोकतन्त्रको विषयमा राष्ट्रपति बाइडेनले ट्रम्पको राष्ट्रपतीय कार्यकालमा भएका कमजोरी देखाएका थिए । बहसको अधिकांस समय बाइडेन रक्षात्मक देखिनुका साथै ट्रम्पलाई जवाफ दिन बाइडेनलाई सकस परेको देखिएको थियो । बाइडेनले ट्रम्पलाई उनीमाथि लागेको फौजदारी अभियोग र सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम उल्ट्याउन खोजेको आरोप लगाए । निर्वाचनमा बाइडेन र ट्रम्प दोस्रोपटक प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि बाइडेन पूर्वराष्ट्रपति ट्रम्पलाई हराएर राष्ट्रपति चुनिएका थिए  । राष्ट्रपति निर्वाचन आगामी नोभेम्बर ५ मा हुनेछ ।। 

प्रतिक्रिया