गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् । संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको देवकोटाले बताएका छन् ।  संसद बैठकमा भाग लिन आएको देवकोटाले जानकारी गराएपछि सभामुख धितालले आफू सल्लाह गरिरहेको जबाफ दिएका थिए।

उनले भित्र प्रदेश सभा बैठक चलिरहेको र आफू बाहिरै रहेको बताए।

२८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।

माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।

माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।

सर्वोच्चले माओवादीले देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै अर्को आदेश नहुँदासम्म यथास्थितिमा काम गर्न दिने गरी अन्तरिम आदेश दिएको छ । अदालतको आदेशसँगै उनको संसद् पद कायम भएको छ ।

 

प्रतिक्रिया