विपद्मा परेका नागरिकको उद्दार र पुनःस्थापनालाई तिव्रता दिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
मृतकका परिवार र घाइतेलाई राहत दिन माग
प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले विपद्मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मनसुनको शुरुवाती चरणमै देशका विभिन्न ठाउँमा धनजनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विराटनगर डुबानमा परेका कारण जनजिवन प्रभावित भएको भन्दै डुबानमा परेका नागरिकलाई उद्धार गर्न माग गरे ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा पोहोर गएको विपद्को क्षतिपूर्ति र राहत आजसम्म नपाएका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । गृहमन्त्रीले विपद्का फाइलहरु खोलेर जनतालाई राहत दिनुपर्ने उनको भनाइ छ ।
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य किरण शाहले विपद्मा परेर नागरिकको मृत्यु भइरहँदा र बिस्थापित भइरहँदा मन्त्रीहरु भने मिशन ८४ मा व्यस्त भइरहेको गुनासो गरे । मधेश प्रदेशका विभिन्न भू–भागहरु डुबानमा परेको भन्दै उनले उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।
आकस्मिक समयमा सांसदहरु ईश्वरीदेवी न्यौपाने, मानवीर राई, मनबहादुर गुरुङ र उर्मिला माझीले पनि बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
प्रतिक्रिया