प्रदीप पौडेलले चक्रपथ विस्तार छिटो सम्पन्न गराउन दबाब यात्रा गर्ने

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले  रिङरोड(चक्रपथ) विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् । पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत रिङरोडको विस्तार कार्य ढिलाइ भइरहेको, गति नलिएको र बेवास्ता गरिएको भन्दै  असार १५ गते दबाब यात्रा गर्ने पौडेलले बताएका छन् । उनले चक्रपथको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रा गर्ने भएका हुन् । काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको  उनको भनाइ छ। सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्रा गर्ने बताएका हुन् । केही दिनअघि पनि नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराएका थिए । यस्तै, उनले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया