बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपतबाट १८ जनाको मृत्यु

२४ जना घाइते

देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपतबाट बुधबार १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । यो वर्षको मनसुन देशव्यापी रूपमा सव्रिmय भएसँगै प्राकृतिक विपत्बाट जनधनको क्षति हुन थालेको हो । पहिरोमा परेर ओखलढुङ्गामा एक, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर पाँच र कास्कीका दुई स्थानमा गएको पहिरोमा परेर दुई गरी आठ जनाको मृत्यु भएको हो । त्यस्तै बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापामा दुई, सुनसरीमा एक, रोल्पामा दुई, कैलालीमा दुई र कपिलवस्तुमा दुई गरी नौ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । देशका विभिन्न स्थानमा विभिन्न खालका ४४ भन्दा बढी विपत्का घटना भएका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विराटनगर क्षेत्रमा करिब एक हजार घर डुबानमा परेका छन् । देशका १० वटा सडकखण्ड अवरुद्ध छन् । विराटनगरको विमानस्थल ठप्प बनेको छ ।  पहिरोले ओखलढुङ्गामा सडक अवरुद्ध भएपछि प्रमुख सडकमा आवागमन बन्द रहेको छ । त्यस्तै लमजुङमा पहिरोले घर बगेपछि अलपत्र रहेका परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा राखेर राहत प्रदान गरिएको छ । लमजुङमा तीन वटा घर पहिरोले बगाएको छ । अन्य केही घर पहिरोको उच्च जोखिममा रहेका छन् । नेपालमा मनसुन मङ्गलबार रातिदेखि सक्रिय बनेको हो । गत २४ घण्टामा देशका १४७ वटा  मापन केन्द्रमा वर्षा भएको रेकर्ड गरिएको छ । जस अनुसार सबैभन्दा धेरै विराटनगरमा ३६१ मिलिमिटर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले अबको एक साता मनसुन सक्रिय रहने सम्भावना प्रबल रहेकाले सतर्कता अपनाउन अपिल गरेको छ । महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म नै मनसुनको उच्च प्रभाव रहेको छ । 

प्रतिक्रिया