संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।  प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेलले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची पनि छ । यस्तै‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ  । त्यस्तै राष्ट्रिय सभाको बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने र राष्ट्रिय सभाका सचिवले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया