नेपाल-भारत सीमा समस्या समाधानको पहल भैरहेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । आज प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री दाहालले महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको दाबी समेत गरे ।
प्रधानमन्त्री दाहालले सीमा सम्बन्धी समया नेपाल–भारतका दुई पक्षीय संयत्र क्रियाशिल गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए । उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने समेत दाबी गरे ।
प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदुत नियुक्ति सच्याइने पनि बताए । नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नाम अनुमोदन गरेको उनको दाबी छ । उनले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको पहल भइरहेको बताए । प्रधानमन्त्री दाहालले नेपाली विद्यार्थीले अमेरिकाको भिसा पाउन समस्या भएका विषयमा आज अमेरिकी राजदूतसँग छलफल गरेको जानकारी दिए । राहादानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री बनाइएको पनि उनले बताए । विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रतिक्रिया