ऋणको माखेसाङ्लोमा नपर्ने गरी बीआरआई ‘इम्प्लिमेन्टेसन प्लान’ सम्झौता छिट्टै अघि बढाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँग छिट्टै बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ‘इम्प्लिमेन्टेसन प्लान’ सम्झौता हुने बताएका छन् । परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।
आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला बीआरआईसम्बन्धी एमओयूमा नेपाल र चीनबीच हस्ताक्षर भएको उनले स्मरण गरे । गत वर्ष चीन भ्रमण गर्दा पनि चिनियाँ समकक्षीसँग बीआरआईका विषयमा गहन छलफल गरेको उनले बताए ।
चीन भ्रमणका बेला बीआरआईलाई अगाडि बढाउन इम्प्लिमेन्टेसन प्लानलाई अन्तिम रूप दिने र हस्ताक्षर गर्ने विषयमा छलफल भएको उनले बताए । संयुक्त वक्तव्यमा समेत उक्त इम्प्लिमेन्टेसन प्लानलाई जतिसक्दो छिटो अन्तिम रूप दिने र हस्ताक्षर गर्ने उल्लेख गरिएको उनले सुनाए ।
बीआरआई इम्प्लिमेन्टेसन प्लान सम्झौतामा हस्ताक्षरपछि धेरैलाई नेपाल चीनले उपलब्ध गराउने ऋणको माखेसाङ्लोमा पर्ने चिन्ता रहेको उनले बताए । “सरकार यसमा प्रस्ट छ, हामी कुनै ऋणको माखेसाङ्लोमा पर्ने छैनौँ । हाम्रो कोसिस हुनेछ अनुदानमा नै त्यस्ता परियोजनाहरू बीआरआईअन्तर्गत आऊन् । दोस्रो प्राथमिकता सहुलियतपूर्ण ऋण एडीबी, विश्व बैंककै जस्तो ब्याजदरमा लिने हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने ।
नेपाल महँगो ब्याजमा ऋण लिएर तिर्न सक्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे । “यो कुरा मैले चिनियाँ पक्षलाई बेइजिङ जाँदा स्पष्ट पारेको छु । अहिले पनि त्यो कुरा भइरहेको छ । हामी ऋणको माखेसाङ्लोमा नपर्ने गरी परियोजनाहरू अगाडि बढाउने कुरामा स्पष्ट छौँ,” उनले भने ।
प्रतिक्रिया