बजेट विनियोजनमा अर्थ र भौतिकमन्त्रीलाई सकेसम्म करेक्सन गर्न भनेको छु: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटको विनियोजनमा सम्भव भएसम्म करेक्सन गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले विनियोजनका विषयमा देखिएको आक्रोशलाई गम्भीर रूपमा लिएको बताए ।
“माननीय सदस्यहरूले आलोचना, टिप्पणी गर्नुभएको छ । आक्रोश पोख्नुभएको छ । कतिपयले बजेट वक्तव्यको पाठ नै च्यात्नुभएको छ । त्यो सबै परिदृश्य मैले गम्भीर रूपले हेरेको छु,” उनले भने
प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुनलाई बजेट विनियोजनका विषयमा सकेसम्म सच्याउन भनेको जानकारी दिए ।
“सम्भव हुनेसम्म उपाय खोजेर सन्तुलित बनाउने कोसिस माननीय अर्थमन्त्रीलाई भनिराखेको छु । सम्भव हुनेसम्म करेक्सन गर्नुपर्छ,” उनले भने, “अलि बढी भौतिक मन्त्रालयसँग सम्बन्धित विषय सदनमा उठेको पनि सुनेको छु । मैले उपप्रधानमन्त्रीलाई हुन सक्ने जति कहाँ सकिन्छ, अलि बढी भएको ठाउँमा करेक्सन गरौं भनेको छु ।”
प्रतिक्रिया