दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु

दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा आज विहान भएको आगलागीमा उनीहरुको मृत्यु भएको हो । घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ । सीसी टिभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै ससाना विस्फोट भइरहेको देखिएको छ । करिब दुई हजार तीन सय वर्गमिटर क्षेत्रफलमा फैलिएको तीनतले कङ्क्रिट भवनमा कसरी आगलागी भएको भन्ने खुलेको छैन । लिथियम ब्याट्री जलाउँदा परम्परागत आगो निभाउने विधिबाट सम्हाल्न गाह्रो हुने भएकाले अग्निनियन्त्रकहरूलाई आगो निभाउन कठिनाइ भएको थियो । प्लान्टभित्र कम्तीमा ३५ हजार ब्याट्री रहेको अनुमान गरिएको छ ।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मन्त्री लीलाई उपलब्ध सबै जनशक्ति र उपकरण परिचालन गरी हराइरहेका व्यक्तिको खोजी र उद्धारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका छन । सरकारले केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयको आपतकालीन बैठक बोलाई विपदबाट हुने क्षति न्यूनीकरणका उपायबारे छलफल गरेको छ । बैठकमा गृह तथा सुरक्षामन्त्री ली साङ–मिनले सबै सम्बन्धित सरकारी निकाय र स्थानीय सरकारलाई आगो निभाउन र पीडितको उद्धारका लागि उपलब्ध सबै स्रोत साधन र कर्मचारी परिचालन गर्न आग्रह गरेका छन । 

प्रतिक्रिया