दक्षिण अफ्रिका टि–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश
वेस्ट इन्डिज तीन विकेटले पराजित
वेस्ट इन्डिज माथि जित दर्ता गर्दै दक्षिण अफ्रिका आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा आज तीन विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिका सुपर ८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल बाँकी छँदै पूरा गरेको हो । अन्तिम दुई ओभरमा १३ रन चाहिएकोमा चेजको १६औं ओभरमा केशव महाराजको ८ रन जोडे । १९ औं ओभरको अन्तिम बलमा कागिसो रबाडाले चौका प्रहार गरेपछि दक्षिण अफ्रिकाका लागि केही सहज अवस्था सिर्जना भएको थियो । अन्तिम ओभरको पहिलो बलमा नै मार्को यान्सनले छक्का प्रहार गरेपछि दक्षिण अफ्रिका विजयी भयो । यान्सनले १४ बलमा २० रन बनाएर अविजित रहे । दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा इनिङको सुरुवातमै वर्षाले खेल प्रभावित भएपछि २० ओभरमा १ सय ३६ रनको लक्ष्य संशोधित भई १७ ओभरमा १ सय २३ रन भएको थियो । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले २९, हेनरिक क्लासेनले २२ र मार्क्रमले १८ रन जोडे । वेस्ट इन्डिजका लागि रोस्टन चेज एक्लैले ३ विकेट लिएका थिए भने आन्द्रे रसेल र अल्जारी जोसेफले समान २–२ विकेट लिए । ग्रुप–२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा र इङल्याण्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इङल्याण्डले विजेतासँग खेल्नेछ । ग्रुप एकबाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।
प्रतिक्रिया