पछिल्लो ११ महिनामा वैदेशिक रोजगार सम्बन्धि ६८४३ उजुरी दर्ता

वैदेशिक रोजगार विभागकमा आव २०८०/८१ को ११ महिनासम्म छ हजार ८४३ उजुरी दर्ता भएका छन् । तीमध्ये तीन हजार ३१३ अर्थात् ४८.४५ प्रतिशत फस्छयोट गराउँदा २७ करोड ७२ लाख ९१ हजार ४१२ बराबरको रकम क्षतिपूर्ति भराइएको छ । विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा दुई हजार ९८६ उजुरी दर्ता भएका छन् । तीमध्ये एक हजार ८९२ वटा उजुरी फस्छयोट भए भने ८२ वटा उजुरीमा मिलापत्र गराइएको छ । त्यसबाट एक करोड ६५ लाख ५४ हजार ६६८ रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराइएको विभागले जनाएको छ । सो अवधिमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये एक हजार ११६ वटा उजुरी फस्छयोट हुन बाँकी छन् । यस्तै सो अवधिमा विभागको मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ६०१ वटा उजुरी दर्ता भएका छन् । सो शाखामा दर्ता भएका उजुरीमध्ये ४२१ वटाको मिलापत्र गराइएको छ भने ३५६ वटा उजुरी अदालतमा मुद्दा दायर गरिएको छ । सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत २२ करोड आठ लाख ७१ हजार ४२९ रुपियाँ भराइएको विभागले जनाएको छ । एक हजार ८२४ वटा उजुरी छानबिन गर्ने काम भइरहेको छ ।  वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । चालु आवको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या छ लाख ८२ हजार ५६६ जना रहेको छ । आव २०७९÷८० मा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या सात लाख ७१ हजार रहेको छ भने आव २०७८÷७९ मा छ लाख ३० हजार ९० रहेको थियो ।।
 

प्रतिक्रिया