प्रतिनिधि सभामा विनियोजन विधयेकमाथि मन्त्रीले जवाफ दिने कार्यसूचि

बजेट आजै पारित गर्ने तयारी

संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दैछन् । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ । प्रतिनिधि सभाबाट आज बजेट पास गर्ने तयारी छ । बैठकको कार्यसूचीमा विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् । त्यस्तै आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अर्थमन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। भन्सार महसुलसम्बन्धि विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । सघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भने दिउँसो सवा एक बजे बस्ने छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।। 
 

प्रतिक्रिया