विद्यालय शिक्षा विधेयक मन्त्रालयमा अड्किएको छैन: शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक मन्त्रालयमा नअड्किएको बताएकी छिन्। आइतबार प्रतिनिधिसभामा सांसदहरूबाट उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विधेयक आफ्नो हातमा नभएको बताइन्। 

‘म यो रोस्ट्रममार्फत सबैलाई स्पष्ट पार्न चाहन्छु– शिक्षा विधेयक मन्त्रालयमा अड्केको छैन, सरकारसँग छैन, मेरो हातमा छैन। सदनमा पेस भैसकेको छ, समितिमा सांसदहरूसँग छ,’ उनले भनिन्, ‘समितिमा छलफल अघि नबढेको विषयमा मैले समिति सभापतिज्यूलाई मौखिक र लिखित रूपमा समेत आग्रह गरिसकेकी छु।’ 

उनले मन्त्रीको काम के, सदनको काम के भन्नेमा भ्रम फैलाउन बन्द गर्न र सबैलाई आफ्नो काम गर्न आग्रह गरिन्।मन्त्रालयको काम विधेयक बनाएर बुझाउने रहेको र पारित गर्ने फिर्ता पठाउने काम सदनको भएको उनको भनाइ थियो।

‘मन्त्रालयले गर्ने अर्को काम ऐनअनुसारको सहायक कानुन बनाउँदै कार्यान्वयनमा लाने हो,’ मन्त्री श्रेष्ठले स्पष्ट पारिन्, ‘ऐनसँग बाझिएको नियमावली नसच्चाउने त? सरुवा मापदण्ड बनाऊ भनेको छ, मैले नबनाउने त? नीति नियम मापदण्ड आदिमा मैले आफूले गर्नुपर्ने काम म गर्छु।’ 

उनले  राष्ट्रिय परीक्षा बोर्डको काम त निर्देशिकाले व्याख्या गर्नु पर्ने बताउँदै निर्देशिका हालसम्म पनि नभएको बताइन्। मन्त्री श्रेष्ठले मन्त्रीले काम नगरेर शिक्षा ऐन बनेन भन्ने भाष्य गलत भएको बताउँदै अब सदनले छिनोफानो गरिदिनुपर्ने बताइन्। 

प्रतिक्रिया