एघार महिना  २९ अब बराबरको विद्युतीय सवारी आयात

विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ । विभागले सार्वजनिक गरेको चालु आव २०८०÷८१ को एघार महिना जेठसम्मको भन्सार तथ्याङ्क अनुसार करिब २९ अर्ब रुपियाँ बराबरको चारपाङ्गे्र विद्युतीय सवारी आयात भएको छ । यससँगै विद्युतीय सवारी नेपालमा सबैभन्दा उच्च आयात हुने वस्तुको १० वटा सूचीभित्र परेको छ ।  विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले ५० किलोवाटदेखि एक सय किलोवाट क्षमताका १९ अर्ब ६७ करोड रुपियाँको चारपाङ्गे्र विद्युतीय सवारी आयात गरेको छ । चारपाङ्गे्र सवारीसाधन अन्तर्गत कार, जिप, भ्यानलगायतका सवारीलाई वर्गीकरण गरिएको छ । यसबाहेक ५० किलोवाट क्षमतासम्मका त्यस्ता सवारी आठ अर्ब १६ करोड रुपियाँ बराबरको आयात भएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ । १०१ किलोवाटदेखि दुई सय किलोवाट क्षमताका सवारी भने केवल ९५ करोड रुपियाँको मात्र आयात भएको देखिन्छ । त्यसपछि २०१ किलोवाटदेखि तीन सय किलोवाटसम्म २० करोड रुपियाँको सवारी आयात भएको छ । तीन सय किलोवाटभन्दा माथिको सवारी भने केवल एक करोड २७ लाख रुपियाँको मात्र आयात भएको देखिन्छ । विद्युतीय सवारीको ब्याट्री क्षमता बढ्दै जाँदा आयात पनि घट्दै गएको छ । कुल आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै चीनबाट करिब २१ अर्ब रुपियाँको सवारी आयात भएको देखिन्छ । चीनबाट मुख्य गरी ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मका १८ अर्ब ७२ करोड रुपियाँका सवारी आयात भएका छन् । त्यस्तै दुई अर्ब ६८ करोड रुपियाँ बराबरका ५० किलोवाटसम्मका सवारी चीनबाट आयात भएको विभागको तथ्याङ्कले देखाउँछ । चीनपछि भारतबाट छ अर्ब रुपियाँ बराबरका विद्युतीय सवारी आयात भएको छ । 

प्रतिक्रिया